6th September 2026, Sunday
News by: MissionSanchar
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा अलपत्र परेका ३ हजारभन्दा बढीको उद्धार गरिएको छ। उद्धार कार्य जारी रहे पनि बाढीमा आफन्त बेपत्ता भएको भन्दै खोजतलासका लागि १ हजार ५५८ वटा निवेदन परेको छ।
नुवाकोट जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार गएरातिसम्म रसुवा र नुवाकोटका विभिन्न स्थानबाट ३ हजार २९ जनालाई उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये २ हजार ७७६ जना नेपाली र २५३ जना विदेशी नागरिक रहेका छन्।
प्रशासनका अनुसार पछिल्लो २४ घण्टामै ६२४ जनाको उद्धार गरिएको छ। बाढीबाट जोगिएर सुरक्षित स्थानमा आश्रय लिइरहेका व्यक्तिलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो। उद्धारपछि उनीहरूको स्वास्थ्य परीक्षण गरिएको छ भने उपचार आवश्यक देखिएका व्यक्तिलाई सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको छ। अन्यलाई परिवारसँग पुनर्मिलन गराइएको प्रशासनले जनाएको छ। सुरुङमा फसेकाको खोजी चुनौतीपूर्ण
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी छ। जलविद्युत् आयोजनाका सुरुङभित्र रहेको आशंका गरिएका व्यक्तिबाहेक अधिकांशको उद्धार भइसकेको जनाइएको छ।
तर रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका क्षेत्रमा अझै केही व्यक्ति फसेको हुनसक्ने आशंकामा सुरक्षा टोलीले हेलिकप्टरमार्फत नियमित हवाई निरीक्षण गरिरहेको छ।
प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार सम्भावित जोखिमयुक्त क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको छ। बेपत्ताको खोजीका लागि १,५५८ निवेदन
बाढीपछि आफ्ना आफन्त सम्पर्कविहीन भएको भन्दै नुवाकोट र रसुवाका विभिन्न स्थानबाट १ हजार ५५८ जनाको खोजतलासका लागि निवेदन परेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार आइतबारसम्म उक्त संख्यामा आफन्त हराएको निवेदन प्राप्त भएको हो।
हराइरहेका व्यक्तिको खोजतलासका लागि नेपाल प्रहरीको वेबसाइट, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा श्री नं. १ सैन्य तालिम केन्द्र, विदुरमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ। हेलिकप्टरदेखि ड्रोन र तालिमप्राप्त कुकुरसम्म परिचालन
बाढीमा फसेका तथा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धारका लागि संयुक्त सुरक्षा फौज परिचालन गरिएको छ। उद्धार अभियानमा हेलिकप्टरसँगै तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको प्रयोग भइरहेको प्रहरीले जनाएको छ।
सुरक्षा टोलीले प्रभावित क्षेत्रका विभिन्न स्थानमा खोजीलाई तीव्र बनाएको छ। नुवाकोटमा ९५ शव सङ्कलन
भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये नुवाकोटमा हालसम्म ९५ जनाको शव सङ्कलन गरिएको छ। जिल्लाका ३० विभिन्न स्थानमा संयुक्त सुरक्षा टोली परिचालन गरी गरिएको खोज तथा उद्धारका क्रममा ती शव भेटिएका हुन्।
सङ्कलन गरिएका शवको पहिचानका लागि प्रहरीले तस्बिरसहितको विवरण सार्वजनिक गरेको छ। शव परीक्षणका लागि नुवाकोटबाट काठमाडौँस्थित शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको जनाइएको छ।
प्रहरीले मृतकका परिवार तथा आफन्तलाई शव पहिचानका लागि शिक्षण अस्पतालमा सम्पर्क गर्न अनुरोध गरेको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध