6th September 2026, Sunday

रसुवागढी आयोजनामा सम्पर्कविहीन ९३ जनाको खोजी तीव्र

Post Image
6 दिन अगाडी

News by: MissionSanchar

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।

गत भदौ १० गते बिहान आएको बाढीले १११ मेगावाट क्षमताको आयोजनामा कार्यरत कर्मचारी तथा निर्माणमा संलग्न कामदारहरू सम्पर्कविहीन भएका थिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार नेपाली सेनाको हेलिकप्टरबाट प्राविधिक तथा विज्ञ टोली आयोजनास्थलमा परिचालन गरिएको छ। टोलीले हवाई निरीक्षणसहित सम्भावित स्थानमा खोजी कार्य गरिरहेको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ कर्मचारी र दुई ज्यालादारी कर्मचारी छन्। त्यस्तै, निर्माणमा संलग्न शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५, सिडब्लुईका चार र भनस कन्स्ट्रक्सनका तीन कर्मचारी रहेका छन्।

बाढीका क्रममा आयोजनाको भूमिगत डिसेन्डरमा छ जना फसेका थिए। तीमध्ये चार जना दुई दिनको प्रयासपछि आफैँ बाहिर निस्कन सफल भएका थिए। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित रूपमा उद्धार गरिएको छ।

सम्पर्कविहीन भएकाहरूको अवस्थाबारे यकिन गर्न उद्धार टोलीले आयोजनास्थल र आसपासका क्षेत्रमा खोजीलाई निरन्तरता दिएको छ।



No ad available.


No ad available.