6th September 2026, Sunday

नेपाल–दक्षिण कोरिया सम्बन्ध थप सुदृढ बनाउन जोड, परराष्ट्रमन्त्री खनाल र राजदूत पार्कबीच भेटवार्ता

Post Image
1 महिना अगाडी

News by: MissionSanchar

काठमाडौं, २० साउन । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार, लगानी, शिक्षा, स्वास्थ्य तथा विकास साझेदारीका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्धलाई थप प्रभावकारी र परिणाममुखी बनाउन कनेक्टिभिटी विस्तारमा विशेष ध्यान दिनुपर्ने धारणा राखे। उनले दुई देशबीचको सहकार्यलाई परम्परागत क्षेत्रमै सीमित नराखी व्यापार, स्वास्थ्य, शिक्षा, पर्यटन, प्रविधि तथा लगानीका नयाँ आयाममा समेत विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।

मन्त्री खनालले नेपालमा विदेशी लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै दक्षिण कोरियाली निजी क्षेत्रलाई लगानी विस्तारका लागि आग्रह गरे। उनले भने, "लगानीका लागि हामीले विभिन्न क्षेत्रको पहिचान गर्नुपर्छ। अहिले हामी ऊर्जा र उत्पादनको क्षेत्रमा छौँ। अब हामीले अन्य क्षेत्रमा पनि जोड दिनुपर्छ।" उनका अनुसार सूचना प्रविधि, कृषि प्रशोधन, पूर्वाधार विकास, हरित ऊर्जा, पर्यटन तथा सीपमूलक शिक्षाजस्ता क्षेत्रमा पनि दुई देशबीच सहकार्यको ठूलो सम्भावना रहेको छ।

उनले नेपाल सरकारले वैदेशिक लगानी आकर्षित गर्न नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिएको उल्लेख गर्दै दक्षिण कोरियाली लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरे।

राजदूत पार्क तइयोङले नेपाल र दक्षिण कोरियाबीचको मित्रवत् सम्बन्ध समयसँगै अझ मजबुत बन्दै गएको उल्लेख गर्दै आर्थिक, प्राविधिक तथा विकास साझेदारीलाई थप विस्तार गर्न दक्षिण कोरिया सकारात्मक रहेको बताए। उनले नेपालका पूर्वाधार, ऊर्जा, शिक्षा तथा मानव स्रोत विकासका क्षेत्रमा सहकार्य बढाउन आफ्नो देश इच्छुक रहेको धारणा व्यक्त गरेका थिए।

भेटवार्तामा दुई देशबीच श्रम, शिक्षा आदानप्रदान, व्यापारिक सम्बन्ध विस्तार, विकास सहायता तथा आपसी हितका क्षेत्रहरूमा सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ। साथै, उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा पनि दुवै पक्ष सकारात्मक देखिएका थिए।

नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता विकास साझेदारी, रोजगारी, शिक्षा तथा आर्थिक सहकार्यका क्षेत्रमा उल्लेखनीय प्रगति हुँदै आएको छ। पछिल्लो भेटवार्ताले दुई मुलुकबीचको साझेदारीलाई अझ व्यापक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


No ad available.


No ad available.